काठमाण्डौ । सरकारले निर्माण सम्पन्न भएर पनि सञ्चालनमा नआइ अलपत्र अवस्थामा रहेका आधारभूत अस्पताल आउँदो साउनदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ । श्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरुलाई छिटै सञ्चालनमा ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तयारी थाल्नु भएको हो ।
देशभर निर्माण सम्पन्न भइसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका अस्पतालको सङ्ख्या ५७ वटा रहेको छ । सरकारले आउँदो आर्थिक वर्षमा पनि थप अस्पताल निर्माणको योजना बनाएको छ । पालिकाहरुमा ५, १० तथा १५ शय्या क्षमताका अस्पतालहरु सञ्चालनका लागि मापदण्डको समेत अभाव देखिएको छ । स्वास्थ्य मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ भने निर्माण गरिसकेको छ ।
अब मापदण्डका आधारमा त्यस्ता अस्पताललाई सङ्घ सरकारले जनशक्ति, औजार उपकरण, औषधिलगायतका अत्यावश्यक संशाधनको व्यवस्थापन गर्ने मन्त्री पौडेलले बताउनु भयो । त्यस्तै उहाँले मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा।कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको छ ।
सञ्चालनको तयारीमा रहेका अस्पतालको निर्माण तथा सञ्चालन गर्न आउँदो वर्षका लागि झन्डै एक अर्ब रुपैयाँ बजेट व्यवस्थापन गरेकाले अब आधारभूत अस्पतालहरु सञ्चालनमा सहजता आउने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताउनुभयो ।