काठमाण्डौ । प्रतिनिधिसभाले हिजो पारित गरेको निजामती विधेयकमा दुई वर्षको ुकुलिङ पिरियडु राखेको बताइए पनि घुमाउरो तरिकाले नियुक्ति लिने बाटो खुला गरेको भन्दै सांसदहरूबीच खैलाबैला भएको छ ।
कुनै पनि निजामती कर्मचारी वा अन्य कर्मचारीले सेवाबाट अवकाश पाएको मितिले दुई वर्षको अवधि पूरा नभई कुनै पनि संवैधानिक र सरकारी नियुक्ति लिन नपाउने व्यवस्था गरेको बताइए पनि संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने कुनै नियुक्तिबाहेक भन्ने शब्द राखेको पाइएको हो ।
आज सिंहदरबारमा पत्रकारहरूसँग कुराकानी गर्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभाबाट बहुमतले पारित भएको निजामती कर्मचारी विधेयकमा केही असमझदारी भएको कुरा आएको भन्दै समितिका सदस्यहरू बसेर स्पष्ट गरेको र अब सच्याएर मात्रै राष्ट्रियसभामा पठाउने बताउनुभयो ।
समितिबाट पास गरिएको विधेयक नै संसद्बाट पनि पारित भएको आफूहरूको विश्वास रहेको भन्दै उहाँले भन्ने एकथोक तर लेख्ने बेलामा ‘कमा’ र ‘र’ छुटाउने गरेको भन्दै यसमा आफूहरू सजग रहेको बताउनुभयो ।











