कैलाली । आइतवारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन् । डुबानमा फसेका आठ जनालाई प्रहरीले आज उद्धार गरेको छ । धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका चार र धनगढीको बेली गाउँका चार गरी आठ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी शिवराज जोसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बेलीका सीताराम रानाको एक तले कच्ची घर डुबानमा परेपछि उहाँसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ । त्यसैगरी धनगढी–१३ श्रीलङ्काका एकै परिवारका चार जनाको उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखिएको छ ।
सूचना अधिकारी जोसीले गएरातिदेखिको भारी वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै दुई हजार घरमा पानी पसेको बताउनुभयो । धनगढीका ३, ४, १३, १, ७ र ११ नम्बर वडा वर्षाका कारण प्रभावित भएको उहाँको भनाइ छ ।











