काठमाण्डाै । अहिले काठमाण्डाै उपत्यकासहित धेरै ठाउँको आकाशमा बिहानैदेखि बादल लागेको छ भने तराईका केही ठाउँमा हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
यसैगरी राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भाग तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा सामान्यतया बदली हुनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशका केही ठाउँमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार भोलि देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ । विशेषगरी भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
मेघगर्जन, चट्याङ, हल्का वर्षा तथा हिमपातका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात र कृषि क्षेत्रमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
अहिले वायुमण्डलमा उच्च चापीय प्रणाली र पूर्वी क्षेत्र नजिक रहेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण देशका धेरै ठाउँमा बदली भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।










