काठमाण्डौ । अमेरिकी नाकाबन्दी जारी रहेमा होर्मुज जलमार्ग खुला नरहने इरानी संसदका सभामुखले चेतावनी दिनुभएको छ । पाकिस्तानको इस्लामाबादमा अमेरिकासँग हालै भएको वार्तामा इरानको प्रतिनिधिमण्डलको नेतृत्व गरेका इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकी नाकाबन्दी हट्नुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।
अमेरिका–इरानबीच युद्धविरामको बाँकी अवधिका लागि हर्मुज जलमार्ग भएर आवतजावत गर्ने सबै व्यावसायिक जहाजहरूको लागि मार्ग खुला गरिएको इरानले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो घोषणालाई स्वागत गर्नुभएको छ । तर उहाँले दुई देशहरूबीच शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहमा नाकाबन्दी जारी रहने बताउनुभएको छ ।
यसैबीच होर्मुज जलमार्गमा व्यावसायिक जहाजका लागि खुला गर्ने इरानको निर्णयको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले स्वागत गर्नुभएको छ । उहाँले होर्मुजमा अन्तर्राष्ट्रिय जल यातायातको अधिकार र स्वतन्त्रतालाई सबै पक्षले पूर्ण सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
महासचिव गुटेरेसले वर्तमान द्वन्द्वको समाधानका लागि भइरहेका कूटनीतिक प्रयासहरूको पूर्ण समर्थन गर्नुभएको छ ।











