काठमाण्डौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब नवीन ऊर्जाका साथ अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेसँगै सामाजिक सञ्जालमार्फत उपसभापति शर्माले सबै अग्रजलाई सँगै लिएर अघि बढ्ने उल्लेख गर्नुभएको छ ।
साथै उहाँले सबैको जीत, सबैको हित सुनिश्चित गर्ने गरी र बदलिएको कांग्रेस अझ बलियो बनाउँदै नवीन सम्भावनाको यात्रामा अघि बढ्ने बताउनुभयो । महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलले पनि सर्वोच्चको फैसलापछि आफ्नो धारणा सार्वजनिक गर्दै यो कसैको हार वा जीतको विषय हुन नहुनेमा जोड दिनुभएको छ ।
सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको पक्षमा फैसला गरेको छ । हिजो न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वको कार्यसमितिको पक्षमा फैसला गरेको हो ।











