काठमाण्डाै । नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ) बाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ । सरकारी तथ्याङ्कअनुसार पछिल्लो ४ वर्षयता नेपालमा त्यस्ता खालको परियोजनाको सङ्ख्या दुईतिहाइले र त्यसबाट आउने बजेट पनि आधा नै घटेको तथ्य सार्वजनिक भएको हो ।
आज ललितपुरमा आयोजित विकास बहससम्बन्धी कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्यालले सार्वजनिक गर्नुभएको तथ्याङ्कअनुसार पछिल्लो ५ वर्षमा बजेट आधाले घटेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा ९८ वटा परियोजना र त्यसबाट आउने बजेट ४० अर्ब रुपैयाँ थियो । अहिले परियोजना दुईतिहाइ र बजेट आधाले घटेको सचिव अर्यालले बताउनुभयो ।
उहाँका अनुसार विश्वव्यापी रूपमा आएको आर्थिक सङ्कट, नेपाल अतिकम विकसित देश (एलडीसी) बाट स्तराेन्नति हुने सन्दर्भ, नेपालको आन्तरिक कारणलगायतले बजेट घटेको छ ।
सचिव अर्यालले नेपालमा एनजीओहरूलाई कडाइका साथ अनुगमन गर्नुपर्ने अवस्था रहेको पनि बताउनुभयो ।











