काठमाण्डौ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ वटा जिल्लामा पहिलो अधिवेशन गर्दैछ । कोशी प्रदेशका चार, मधेसका चार, बागमतीका दुई, गण्डकीका चार, लुम्बिनीका तीन, कर्णालीका छ र सुदूरपश्चिमका पाँच जिल्लामा अधिवेशन हुन लागेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो ।
पार्टीको निर्वाचन आयोगका अनुसार उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुनेछ । हरेक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालित भएका छन् ।
रास्वपाले हिजो ३८ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ । आयोगका अनुसार झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा, सुनसरी, महोत्तरी, रौतहट, दोलखा, काठमाण्डौ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवेशन सम्पन्न भैसकेको हो । यसैगरी, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालिकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलामा पनि अधिवेशन भई नयाँ नेतृत्व चयन भइसकेको छ ।
पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने रास्वपाको तयारी छ । अन्य १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुनेछ । रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आउँदो असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ ।











