पाँचखपन नगरपालिका वडा नं. ७ को वडासभा सम्पन्न भएको छ । मंगलबार वडाको सभाहलमा १० औं सभा सम्पन्न भएको वडा अध्यक्ष सन्तोष वस्नेतले जानकारी दिनुभयो । सभामा वडा अध्यक्ष वस्नेतले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । आगामी वर्ष वडा नं. ७ भित्र २० रोपनी क्षेत्रफल भएको बाँझो जग्गामा नगदेबाली लगाउने कृषकलाई पुरस्कृत गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्ता कृषकलाई वडाले १० हजार नगद पुरस्कार दिने घोषणा गरिएको हो ।
प्रस्तुत निति तथा कार्यक्रममा शिक्षातर्फ २७ प्रतिशत र कृषि उत्पादनमा २५ प्रतिशत बजेट विनियोजन गरिएको वडा अध्यक्ष वस्नेतले जानकारी दिनुभयो । सभामा उत्कृष्ट शिक्षक हस्त बहादुर तामाङ र प्राकृतिक श्रोत दन्द्ध रुपान्तरण केन्द्र नेपाल, संखुवासभालाई सम्मान गरिएको थियो ।
नगर प्रमुख विपिन राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा अध्यक्ष वस्नेतले आफ्नो कार्यकालको अन्तिम निति तथा कार्यक्रम प्रस्तुत गर्दै वडा नं. ७ निवासी सम्पूर्णमा धनयवाद ज्ञापन गर्नुभयो ।











