तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ जना बालबालिकाको ज्यान गयाे

तनहुँ । तनहुँमा ९ वर्षको अवधिमा वन्यजन्तुको आक्रणमा परि १७ जना बालबालिकाको ज्यान गएको छ । मानव–वन्यजन्तु द्वन्द्वका कारण यस अवधिमा ३८ वटा घटना भएका डिभिजन वन कार्यालयले जनाएको छ । २०७४ देखि २०८२ सालसम्मको अवधिमा त्यस्ता घटनामा २१ जना स्थानीय घाइते भएका छन् ।

वन्यजन्तुको आक्रमणबाट बन्दीपुर गाउँपालिकामा मात्रै ७ जना बालबालिकाको ज्यान गएकाे र ४ जना घाइते भएका वन अधिकृत एवम् सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार भानु नगरपालिकामा ५ जनाकाे ज्यान गएकाे छ भने ९ जना घाइते भएका छन् । व्यास नगरपालिकामा २ जनाको ज्यान गएकाे छ भने ४ जना घाइते भएका छन् ।

त्यसैगरी शुक्लागण्डकी नगरपालिकामा २ जनाकाे ज्यान गएकाे छ भने १ जना घाइते भएका छन् । आँबुखैरेनी गाउँपालिकामा १ जनाकाे ज्यान गएकाे छ भने २ जना घाइते भएका छन् । म्याग्दे गाउँपालिकामा १ जना घाइते भएका छन् ।

धेरैजसाे घटना चितुवाबाट भएको छ भने केही घटना भालु र बाँदरबाट भएको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०८० अनुसार हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जङ्गली कुकुर, जङ्गली बँदेल, अर्ना, मगर गोही, अजिङ्गर र गौरीगाईबाट क्षति भएमा राहतका लागि पीडित वा हकवालाले ३५ दिनभित्र सम्बन्धित निकायमा निवेदन दिनुपर्दछ ।

वन्यजन्तुबाट सामान्य घाइते भएका व्यक्तिलाई बढीमा २० हजार रुपैयाँसम्म औषधि उपचार खर्च दिने व्यवस्था रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

त्यस खालका घटनामा परि सख्त घाइते भएकालाई २ लाख रुपैयाँ र त्याेभन्दा धेरै खर्च लाग्ने भएमा सरकारी अस्पतालमा उपचार गराई अस्पतालको सिफारिशमा सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने प्रावधान रहेको डिभिजन प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो ।

उहाँका अनुसार अङ्गभङ्ग भई जीवनभर गम्भीर रूपले शारीरिक अशक्त हुने अवस्थाको व्यक्ति वा उसकाे हकवालालाई जीविकोपार्जनका लागि एकमुष्ठ ५ लाख रुपैयाँ राहत रकम दिने व्यवस्था रहेको छ । मानिसको ज्यान गएमा मृतकको आश्रित परिवारलाई १० लाख रुपैयाँ राहत रकम दिइनेछ ।

गम्भीर घाइते भई उपचाररत रहेको व्यक्तिको अस्पतालबाट ‘डिस्चार्ज’ भएपछि त्यही कारणले ३५ दिनभित्र ज्यान गएमा वा अस्पतालमा निरन्तर थलिएर ज्यान गएमा मृतकको नजिकको हकवालालाई उपचार खर्च पूरै र १० लाख रुपैयाँ राहत प्रदान गरिने छ ।

चालू आर्थिक वर्षमा त्यस खालका घटना भएका छैनन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search