काठमाण्डौ । सरकारले हिजो सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको मौद्रिक नीतिले सरकारको वित्त नीतिलाई सघाउने पूर्वगभर्नर चिरञ्जीवी नेपालले बताउनुभएको छ । मौद्रिक नीतिले केही नदिएको भन्दै राष्ट्र बैंकको आलोचना भइरहेको छ । तर यो मौद्रिक नीति ठिक तरिकाले आएको राष्ट्र बैंकका पूर्वगभर्नर नेपालको तर्क छ । उहाँकाअनुसार अहिलेको मौद्रिक नीति सरकारले ल्याएको वित्त नीतिलाई सघाउने खालको छ ।
विगतका मौद्रिक नीतिले सरकारले नदिएको राहतको प्याकेजहरू पनि राष्ट्र बैंकले दिने गरेकाले बजेट भन्दा पनि ठूलो बन्ने गरेकोमा अहिले त्यस्तो नभएको नेपाल बताउनुहुन्छ । उहाँकाअनुसार मौद्रिक नीतिले लिएको ११ प्रतिशतको कर्जा विस्तारको लक्ष्यले सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धि सम्भव छ ।
नेपालको अर्थतन्त्र ४० प्रतिशत अनौपचारिक भएकाले एक रुपैयाँ पनि कर्जा विस्तार नहुँदा पनि ३–४ प्रतिशत आर्थिक वृद्धि हुने नेपालको बुझाइ छ । तर मौद्रिक नीतिले कर्जा कुन क्षेत्रमा जान्छ भनेर नबताएको हुँदा केही अन्योल देखिएको उहाँले बताउनुभयो ।











