अमेरिका र इरानबीच केही हप्ताअघि भएको युद्धविराम तथा समझदारी अन्त्य हुने अवस्था आएसँगै दुवै देशबीच फेरि प्रत्यक्ष सैन्य टकरावको अवस्था सृजना भएको छ ।अमेरिकाले इरानका हवाई प्रतिरक्षा प्रणाली, क्षेप्यास्त्र प्रक्षेपणस्थल, नौ सैनिक इलाका, बन्दरगाह, रेलमार्ग तथा सामरिक पूर्वाधारमा आक्रमण गरेको जनाएको छ । इरानले अमेरिकी आक्रमण जारी रहे मध्यपूर्वका अन्य अमेरिकी सैन्य अड्डासमेत निशानामा पर्ने चेतावनी दिएको छ ।
पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा समेत अमेरिकी आक्रमण जारी रहे इरानी नेतृत्वले प्रतिरोधको नीति निरन्तर रहने सन्देश दिएको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।
इरानले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएको छ । इरानी प्रतिनिधिले संयुक्त राष्ट्रसंघको बडापत्र उल्लंघन भएको भन्दै सुरक्षा परिषद्लाई सक्रिय हस्तक्षेप गर्न आग्रह गरेका छन् । राष्ट्रसंघले प्रत्यक्ष रूपमा संयम अपनाउन र कूटनीतिक समाधान खोज्न आग्रह गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय विश्लेषकहरूले पनि युद्ध विस्तार भए विश्व अर्थतन्त्र र क्षेत्रीय सुरक्षामा गम्भीर असर पर्ने चेतावनी दिएका छन् । विभिन्न देशहरुले दुवै पक्षलाई संयम अपनाउन आग्रह गर्दै यसअघि भएको समझदारी कार्यान्वयन गर्न आह्वान गरेका छन् ।
साउदी अरेबिया र इरानका विदेशमन्त्रीबीच पनि पछिल्लो सुरक्षा अवस्थाबारे टेलिफोन वार्ता भएको छ । तर इजरायलले आवश्यक परे इरानमाथि अझ शक्तिशाली आक्रमण गर्न तयार रहेको जनाएको छ ।
विश्वको झण्डै २० प्रतिशत कच्चा तेल र ठूलो परिमाणमा मल तथा अन्य वस्तु ढुवानी हुने भएकाले तनाव बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि, आपूर्ति शृंखला अवरोध तथा खाद्य सुरक्षामाथि समेत असर पर्ने चिन्ता बढेको छ ।
विश्लेषकहरूले कूटनीतिक समाधान ननिस्किए ऊर्जा संकट थप गहिरिने चेतावनी दिएका छन् ।










