काठमाण्डाै । विपन्न समुदायलाई लक्षित गरी लागू भएको जनता आवास कार्यक्रमअन्तर्गत अहिलेसम्म ३८ हजार ९३८ वटा आवास हस्तान्तरण भएको सरकारले जनाएको छ । राष्ट्रियसभाको आजकाे बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले याे जानकारी गराउनुभएको हो । उहाँका अनुसार अहिले ८ हजार ३५९ वटा आवास निर्माणाधीन अवस्थामा रहेका छन् । उहाँले अहिलेसम्म ५५ हजार ९७० वटा आवास स्वीकृत भएको बताउनुभयो ।
मन्त्री वादीका अनुसार प्रदेशगत रूपमा कोशीमा ५ हजार ४१६ आवास हस्तान्तरण भई ६५७ वटा निर्माणाधीन रहेका छन् ।
मधेशमा १५ हजार ५३४ आवास हस्तान्तरण भई ५ हजार २४८ वटा निर्माणाधीन रहेका छन् । बागमतीमा २ हजार ७६ आवास हस्तान्तरण भई १४७ वटा निर्माणाधीन रहेका छन् । गण्डकीमा २ हजार २१ आवास हस्तान्तरण हुँदा १५९ वटा निर्माणाधीन, लुम्बिनीमा ६ हजार ५२२ आवास हस्तान्तरण हुँदा ५ हजार ३७ वटा निर्माणाधीन, कर्णालीमा ४ हजार ३४४ आवास हस्तान्तरण हुँदा १ हजार १३४ वटा निर्माणाधीन तथा सुदूरपश्चिममा ३ हजार १८ आवास हस्तान्तरण हुँदा ४६८ वटा निर्माणाधीन रहेका छन् ।










