काठमाण्डौ । विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ लाई जिल्लास्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ ।
मन्त्रालयको विज्ञप्तिअनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद् टोल–फ्री नम्बर ११४९ लाई रूपान्तरण गरी १२३४ नम्बर सञ्चालनमा ल्याइएको हो ।
नयाँ व्यवस्थाअनुसार काठमाण्डौ उपत्यका भित्रबाट १२३४ मा गरिएको फोन राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, सिंहदरबारमा पुग्नेछ भने अन्य ७४ जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा स्वतः ‘राउटिङ’ हुने व्यवस्था मिलाइएको छ ।
अब आफ्नै जिल्लाको आपत्कालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्नसक्ने भएकाले उद्धार, समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।











