काठमाण्डौ । विश्वका प्रमुख सङ्गीत उद्योग सम्बद्ध संस्थाहरूले कृत्रिम बुद्धिमत्ता (एआई)बाट सिर्जना गरेका सङ्गीत सामग्री पहिचान गर्न नयाँ स्वैच्छिक लेबलिङ प्रणाली सार्वजनिक गरेका छन् ।
फोनोग्राफिक उद्योगको अन्तर्राष्ट्रिय महासङ्घ र रेकर्डिङ इन्डस्ट्री एसोसिएसन अफ अमेरिकाले ग्रामी अवार्ड आयोजकसहित अन्य संस्थाहरूसँग मिलेर यो प्रणाली ल्याएका हुन् । श्रोताहरूलाई सङ्गीत सिर्जनामा एआईको प्रयोगबारे स्पष्ट जानकारी दिने उद्देश्यले यो पहल गरिएको संस्थाहरूले जनाएका छन् ।
नयाँ प्रणालीअन्तर्गत दुई प्रकारका लेबल प्रयोग हुनेछन् । गीत वा रेकर्डिङको धेरैजसो वा सम्पूर्ण सिर्जनात्मक पक्ष एआईबाट तयार भएमा त्यसमा ’एआईद्वारा सिर्जना गरिएको’ लेबल लगाइनेछ । मुख्य रूपमा मानव सिर्जनामा आधारित तर केही अंशमा एआईको सहयोग लिइएको सामग्रीमा भने ’एआई–सहायता प्राप्त’ लेबल प्रयोग हुनेछ, जहाँ मुख्य स्वर र वाद्य प्रस्तुति भने मानव कलाकारकै हुनुपर्नेछ । यो प्रणाली विश्वव्यापी रूपमा सङ्गीत स्ट्रिमिङ सेवामा लागू गर्ने लक्ष्य छ ।
स्ट्रिमिङ सेवा डिजरले पहिल्यै एआई सामग्री स्वचालित रूपमा चिह्न लगाउने गरेको र अहिले नयाँ अपलोडको झण्डै आधा सामग्री एआईबाट सिर्जित रहेको जनाएको छ । त्यसै गरी एप्पल म्युजिकका अनुसार पनि नयाँ अपलोडको एक तिहाइभन्दा बढी सामग्री पूर्ण रूपमा एआईबाट सिर्जित छन् ।
स्ट्रिमिङ सेवाहरूको प्रतिनिधि संस्था डिजिटल मिडिया एसोसिएसनले पनि यो लेबलिङ प्रणालीको स्वागत गर्दै एआईसम्बन्धी मेटाडाटा थप सुदृढ बनाइने बताएको छ ।











