भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या चार हजार नाघेको भेनेजुएला सरकारले जनाएको छ । यही असार १० गते आएको भूकम्पका कारण कम्तीमा चार हजार एक सय १८ जनाको ज्यान गएको पुष्टि भएको भेनेजुएलाका संसद प्रमुख जोर्ज रोड्रिगेजलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
यस्तै १६ हजार ७४० जना घाइते भएका छन् । थप हजारौँ मानिसहरू बेपत्ता भएकाले खोजी तथा उद्धार कार्य जारी रहेको छ । उद्धार टोलीहरूले अव जीवित व्यक्तिहरूको सम्भावना नरहेको जनाएका छन् भने परिवारका सदस्यहरूले उनीहरूलाई सम्मान जनक संस्कार गर्ने आशामा आफ्नो परिवारका सदस्यहरूलाई भग्नावशेषमा खोज्ने कार्य जारी राखेका छन् ।
यसैबीच संयुक्त राष्ट्र सङ्घले भेनेजुएलामा भूकम्प राहत कार्यका लागि झण्डै ३० करोड डलरको तत्कालीन अपिल जारी गरेको छ । भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जले विदेशमा राखिएको फ्रिज गरिएका सम्पत्ति फिर्ता गर्न आह्वान गर्नु भएको छ ।











