काठमाण्डौ । पर्वतारोहण सञ्चालक संघ नेपालले पाकिस्तानमा हिमपहिरोमा परेका नेपाली पर्वतारोहीको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ ।
संघका महासचिव ऋषि भण्डारीले जारी गर्नुभएको विज्ञप्तिमा विदेशी भूमिमा विपद्मा परेका नेपाली नागरिकको उद्धार र सुरक्षाका लागि राज्यको सक्रियता तथा प्रभावकारी कूटनीतिक पहल आवश्यक रहेको उल्लेख गरिएको छ ।
यस्तै, संघले नेपालको दिगो आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र भएको उल्लेख गर्दै पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने क्षमता बोकेको जनाएको छ। साथै, सरकारको समन्वय, कूटनीतिक पहल र सक्रियता अपेक्षाअनुसार प्रभावकारी देखिन नसकेको टिप्पणी पनि गरिएको छ ।
निजी क्षेत्रले नेपाली उद्धार पाइलट, उद्धार टोली तथा अन्य स्रोत–साधन परिचालन गर्न तयारी देखाउँदा पनि आवश्यक सरकारी अनुमति र कूटनीतिक सहजीकरण समयमै हुन नसकेको भन्दै संघले यसलाई राज्य संयन्त्रको संस्थागत कमजोरीका रूपमा चित्रण गरेको छ ।
हिजो पाकिस्तानस्थित ब्रड पिक हिमालमा हिमपहिरो जाँदा कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० जना आरोही बेपत्ता भएका थिए। तीमध्ये चार जनाको शव फेला परिसकेको छ भने निर्मल पुर्जासहित ६ जना अझै बेपत्ता रहेका छन् ।











