भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि भएको युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिन चाहेको बताउनुभएको छ । ती प्रदर्शनले मोदी नेतृत्वको सरकारमाथि पछिल्ला वर्षयताकै ठूलो राजनीतिक दबाब सिर्जना गरेको थियो ।
परीक्षाको प्रश्नपत्र चुहावटसम्बन्धी विषयलाई लिएर अनलाइन समूह ‘कक्रोच जनता पार्टी’(सीजेपी)ले नयाँ दिल्लीसहित विभिन्न सहरमा प्रदर्शन आयोजना गरेको थियो । ती प्रदर्शनहरू बेरोजगारी र सुशासनसम्बन्धी असन्तुष्टिसँग जोडिँदै गएपछि सरकारका लागि चुनौती बनेका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्रीप्रति अपमानजनक अभिव्यक्ति प्रयोग गरेको देखिने केही प्रदर्शनकारीका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूले मोदी समर्थकहरूको आलोचना तथा प्रहरी उजुरीको सामना गरिरहेका छन् । प्रहरीले सामाजिक सञ्जाल कम्पनीहरू मेटा र एक्सलाई प्रधानमन्त्रीलाई लक्षित गरी बनाइएका अपमानजनक तथा तोडमोड गरिएका सामग्री हटाउन आग्रह गरेको जनाएको छ । मोदीले इन्स्टाग्राममा एउटा भिडियो सार्वजनिक गर्दै केही युवाले अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेका भए पनि उनीहरूलाई माफ गर्न चाहेको बताउनुभएको हो ।
प्रदर्शनकारीविरुद्ध दर्ता भएका प्रहरी मुद्दाबारे बोल्दै मोदीले युवावस्थामा हुने गल्तीलाई कानुनी कारबाहीभन्दा पनि मार्गदर्शनमार्फत सुधार गर्नुपर्ने बताउनुभयो । प्रदर्शनको दबाबपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुभएको थियो ।











