काठमाण्डौ । रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । पहिरोमा बेपत्ता भएका ९ जनाको खोजी भैरहेको रोल्पा प्रहरीले जनाएको छ । दुई जनालाई घाईते अवस्थामा उद्धार गरी अस्पताल लगिएको छ । गएराति पौने ९ बजे घरमाथिबाट अचानक पहिरो खसेको पहिरोले ६ वटा घर तथा गोठ पुरेको प्रारम्भिक विवरण छ ।
घटनास्थलमा रातिदेखि नै स्थानीयबासिन्दा र सुरक्षाकर्मीले उद्धार तथा खोजी कार्य गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परी थबाङ गाउँपालिका–५ का ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीय शान्ती पुनमगर र ७१ वर्षीया मनरखी पुनमगरको ज्यान गएको छ । त्यस्तै, पहिरोमा परी २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् ।
पहिरोमा बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुनमगर, ९ वर्षीय अशिम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ७५ वर्षीय डलबहादुर पुनमगर, ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लिलबहादुर पुनमगर, ७१ वर्षीया मनी पुनमगर र ६७ वर्षीया हस्तकला रोकामगर रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुरुमा पहिरोमा १० जना बेपत्ता भएको विवरण आएको थियो । खोजीका क्रममा एक जनाको शव फेला परेपछि अहिले नौ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घटनास्थलको भौगोलिक अवस्था, पहिरोको जोखिम र रातिको समयका कारण उद्धारमा कठिनाइ भएको छ ।
थबाङ गाउँपालिका रोल्पा सदरमुकामबाट दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार सामग्री तथा थप जनशक्ति घटनास्थलसम्म पुर्याउन पनि चुनौती रहेको छ ।











