काठमाण्डाै । सरकारले ९ वटा पहाडी तथा हिमाली जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा उपसचिव खटाउने निर्णय गर्दै ९ जना सहसचिवको दरबन्दी कटौती गरेको छ । गृह मन्त्रालयको नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार यसअघि सहसचिव प्रमुख जिल्ला अधिकारी रहने भोजपुर, खोटाङ, सल्यान, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेल्धुरा र अछाममा अब उपसचिवलाई नै पठाइनेछ । योसँगै अब ७७ मध्ये ५२ जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन् । साथै सह–सचिवको दरबन्दी रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उपसचिव खटाइने भएको छ ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कटौती भएका सहसचिवको दरबन्दीलाई सदुपयोग गर्दै मन्त्रालयअन्तर्गत नयाँ ’लागूऔषध नियन्त्रण विभाग’ गठन गरिनेछ जसको नेतृत्व सहसचिवले गर्नेछन् ।
यसबाहेक वालिङ र बर्दिबास इलाका प्रशासन तथा झापा, मोरङ, कास्की र बाँके कारागारमा उपसचिवको दरबन्दी थप गरिएको छ । नयाँ व्यवस्थाअनुसार ६ जना उपसचिव र ४६ जना शाखा अधिकृतको दरबन्दी थप भएको मन्त्रालयले जनाएको छ ।











