अमेरिकाले बालबालिकाको खोप नीतिमा गरेको परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बालबालिकाको खोप कार्यक्रममा गर्न लागेको व्यापक परिवर्तनप्रति विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले आपत्ति जनाएको छ । डब्ल्यूएचओका अनुसार, प्रस्तावित परिवर्तन दशकौँदेखिको वैज्ञानिक प्रमाणसँग मेल खाँदैन । राष्ट्रपति ट्रम्पले विद्यालयमा अनिवार्य गरिएका खोपसम्बन्धी नियमको पुनरावलोकन गर्न आदेश दिनुभएको छ । उहाँले दादुरा, मम्प्स र रुबेला अर्थात् एमएमआरविरुद्धको संयुक्त खोपलाई तीनवटा छुट्टाछुट्टै मात्रामा दिनुपर्ने मागसमेत दोहोर्याउनुभएको छ ।

अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जुनियरले एमएमआर खोप र अटिजमबीच सम्बन्ध रहेको दाबी गर्दै आउनुभएको भए पनि वैज्ञानिक अनुसन्धानले खोप र अटिजमबीच कुनै सम्बन्ध नरहेको पुष्टि गरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले एमएमआरलगायत खोप सुरक्षित रहेको र त्यसले अटिजम नगराउने वैज्ञानिक प्रमाण स्पष्ट रहेको बताउनुभएको एएफीले जनाएको छ । उहाँले खोपसम्बन्धी नीति राजनीतिक प्रभावबाट नभई उपलब्ध उत्कृष्ट वैज्ञानिक प्रमाणको गहन, स्वतन्त्र र पारदर्शी समीक्षामा आधारित हुनुपर्नेमा जोड दिनुभएको छ ।

डब्ल्यूएचओले खोप दिन अनावश्यक ढिलाइ गर्ने वा विभिन्न खोपको मात्रा छुट्टाछुट्टै दिने निर्णयले बालबालिकालाई रोगको जोखिममा पार्न सक्ने चेतावनी दिएको छ । यी कदमको अमेरिकी तथा अन्तर्राष्ट्रिय चिकित्सा एवं वैज्ञानिक समुदायले आलोचना गर्दै आएका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search