Ads3

हिमपहिरो र बाढीले नेपाल र चीन दुवैतर्फ जनधनको ठूलो क्षति

हिमपहिरो र बाढीले नेपाल र चीन दुवैतर्फ जनधनको ठूलो क्षति

काठमाण्डौ । नेपाल–चीन सीमा क्षेत्रमा हिजो बिहान आएको विनाशकारी बाढी र हिमपहिरोले दुवै देशमा जनधनको ठूलो क्षति गरेको छ । रसुवाको लाङटाङ क्षेत्रबाट शुरु भएको विपद्को असर चीनको तिब्बतको जिरोङ सीमा नाकादेखि त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रसम्म परेको छ ।

प्रारम्भिक अध्ययनअनुसार, लाङटाङ लिरुङ हिमालको उत्तरी भागमा गएको विशाल हिमपहिरोपछि सीमाक्षेत्रको ल्हेन्दे खोलामा पानी थुनिएर ताल बनेको र यो ताल फुटेपछि माटो, ढुंगा र पानीको ठूलो भेल त्रिशूली नदीतर्फ आएको देखिएको छ । हिजो बिहान नेपाल–चीन सीमाक्षेत्र नजिकै ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प पनि गएको थियो ।

भूकम्प र हिमपहिरोबीच प्रत्यक्ष सम्बन्ध थियो वा हिमपहिरोले नै भूकम्पीय कम्पन उत्पन्न गराएको हो भन्ने विषयमा भने वैज्ञानिक अध्ययन भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । हिमपहिरोबाट बनेको भग्नावशेषले मनसुनका कारण उर्लिएको ल्हेन्दे खोला थुनेपछि बनेको ताल छोटो समयमै फुटेको र त्यसबाट निस्किएको भीषण बहावले त्रिशूली नदीको जलस्तर अचानक बढाएको अनुमान छ ।

 बाढीले त्रिशूली र भोटेकोशी नदी आसपासका सडक, पुल, विद्युत् आयोजना, प्रसारण लाइन र सबस्टेसनमा समेत ठूलो क्षति पुर्‍याएको छ । कम्तीमा डेढ दर्जन पुल बगाउँदा उत्तरी नेपालतर्फ जाने सडक सञ्जाल बन्द भएको छ । जलविद्युत् आयोजनाहरूमा भएको क्षतिले विद्युत् उत्पादन र प्रसारणमा समेत दीर्घकालीन असर पर्न सक्ने देखिएको छ ।

नेपालमा आएको विपद्को असर सीमापार चीनको तिब्बतमा पनि परेको छ । शिगात्सेअन्तर्गत जिरोङ क्षेत्रमा हिजो बिहान पहिरो गएपछि सीमा नाका आसपास ठूलो मात्रामा माटो, ढुंगा र भग्नावशेष थुप्रिएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार जिरोङ सीमा नाकामा कम्तीमा तीन जनाको ज्यान गएको छ भने २६५ जना अझै बेपत्ता छन् ।

पहिरोका कारण सडक, सञ्चार सञ्जाल र विद्युत् आपूर्ति अवरुद्ध भएको छ । घटनापछि चिनियाँ राष्ट्रपति सी जिङपिङले बेपत्ता व्यक्तिको खोजी तथा उद्धारलाई उच्च प्राथमिकता दिन निर्देशन दिनुभएको छ । उहाँले जोखिममा रहेका मानिसलाई सुरक्षित ठाउँमा सार्न, घाइतेलाई तत्काल उपचार उपलब्ध गराउन तथा सम्भावित दोस्रो चरणका विपद्बाट जोगिन निगरानी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन निर्देशन दिनुभएको छ ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि प्रभावित तथा बेपत्ता व्यक्तिको संख्या यकिन गर्न र उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन निर्देशन दिनुभएको छ । सम्बन्धित देशहरूसँग समन्वय गरी सूचनाको आदानप्रदान तथा उद्धार कार्यमा सहकार्य गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको छ । चीनले जिरोङ क्षेत्रमा सयौँ उद्धारकर्मी, खोजी तथा उद्धार कुकुर, जीवित व्यक्ति पत्ता लगाउने उपकरण, उद्धार डुंगा तथा इन्जिनियरिङ उपकरण परिचालन गरेको छ ।

आकस्मिक सञ्चार सेवा सञ्चालनका लागि ड्रोन, स्याटेलाइट सञ्चार र मोबाइल बेस स्टेसनसमेत प्रयोग गरिएको खबरमा उल्लेख छ । केन्द्रीय सरकारले तिब्बतका लागि हजारौँ थान राहत सामग्री पठाउनुका साथै उद्धार तथा राहत कार्यका लागि करोडौँ युआन बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ । तर प्रभावित क्षेत्रमा लगातार वर्षा भइरहेकाले उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ । 

यो घटनाले हिमाली क्षेत्रमा बढ्दो जलवायुजन्य जोखिमप्रति फेरि गम्भीर प्रश्न उठाएको छ । वैज्ञानिकहरूका अनुसार तापक्रम वृद्धिका कारण हिमनदी, हिमताल, पर्माफ्रोस्ट अर्थात् स्थायी रूपमा जमेको जमिन र हिमाली भूभाग अस्थिर बन्दै गएका छन् । त्यसमाथि मनसुनका बेला हुने अत्यधिक वर्षाले हिमताल फुट्ने, मोरेन भत्किने र अचानक बाढी आउने जोखिम बढाइरहेको छ । 

नेपालमा मेलम्ची, थामे र भोटेकोशीलगायत हिमाली क्षेत्रमा पछिल्ला वर्षमा भएका ठूला विपद्ले पनि यही जोखिमलाई उजागर गरेका छन् । लाङटाङदेखि जिरोङसम्मको पछिल्लो घटनाले हिमाली विपद् कुनै एउटा देशको सीमाभित्र सीमित रहँदैन भन्ने स्पष्ट पारेको विज्ञहरुको भनाइ छ । 

Muktinath

प्रतिक्रिया दिनुहोस्