काठमाडौं । बंगलादेशका सडकमा मंगलबार आन्दोलनकारी विद्यार्थीहरु ट्राफिक व्यवस्थापन गर्दै गरेको देखिएका छन् ।
राजधानी ढाकासहित बोगुरा जिल्लामा विद्यार्थीहरुले स्वयंसेवी रुपमा ट्राफिक व्यवस्थापन गरेको बंगलादेशी अखबार डेली स्टारले लेखेको छ ।
सडकमा ट्राफिक प्रहरी नदेखिएपछि मिरपुर–२, मिरपुर १०, अग्रगाउँ, बंगला मोटर क्षेत्र लगायतमा विद्यार्थीहरुले सडक व्यवस्थापन गरेको देखिएको समाचारमा उल्लेख छ । उनीहरुले कुनै पनि सवारी साधनलाई इन्टरसेक्सनमा रोकिन वा गलत दिशातिर पार्किङ गर्न नदिएको भनिएको छ ।
मिरपुर क्षेत्रमा कम्तीमा २०० जना विद्यार्थी प्रहरी चौकी, चर्च र मन्दिरको सुरक्षाका लागि समेत खटिएका छन् । सोमबार भएको झडपपछि सयौं मानिसहरुले प्रहरी चौकी र सरकारी कार्यालयहरुमा आगजानी र तोडफोड गरेका थिए । त्यसपछि मंगलबार चौकीमा प्रहरीहरु आएका थिएनन् ।
विद्यार्थीहरुले लुटिएका कतिपय हतियार, गोली र सञ्चार सेट फिर्ता ल्याएका छन् । ती सामग्रीहरु सेनाको जिम्मा लगाइने भनिएको छ ।
आन्दोलनकारीहरुले सदर प्रहरी चौकी, सदर आउट पोष्ट, ट्राफिक प्रहरी कार्यालय लगायतमा आगजानी गरेका थिए । त्यसपछि ट्राफिक प्रहरी मंगलबार काममा गएनन् ।
एक जना विद्यार्थीले डेली स्टारलाई बताएअनुसार, भिडमा केही गलत प्रवृत्तिका व्यक्तिहरुले आगजानी गरेका थिए । त्यसपछि विद्यार्थीहरुले तत्कालका लागि ट्राफिक व्यवस्थापन गरेको उनले बताएका छन् ।











