एक सय वटा पेन्गुइन मारेको आरोपमा अर्जेन्टिनाका किसानलाई तीन वर्षको जेल सजाय

पेन्गुइनका बच्चा मारेको पुष्टि भएपछि अर्जेन्टिनाका एक जना किसानलाई अदालतले तीन वर्षको जेल सजायको फैसला गरेको छ ।

आफ्नो बारीमा बालीनाली खान आएका एक सय वटा भन्दा धेरै म्यागेलानिक प्रजातिका पेन्गुइनका बच्चा मारेको कसुरमा दक्षिणी प्रान्त चुबुटका एक जना किसानलाई तीन वर्षको जेल सजाय सुनाइएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२१ मै उनले चरा मारे पनि यो मुद्दामा लामो बहस भएकाले अहिले बल्ल फैसला आएको हो । उनले पेन्गुइनका दर्जनौँ गुँड पनि नष्ट गरेका थिए । अभियोजनकर्ताहरूले चार वर्षको सजायको माग गरेका थिए ।

यो मुद्दाको उजुरीकर्ता पर्यावरण समूह ग्रीनपीसले किसानलाई दोषी ठहर गर्ने फैसलालाई ‘पर्यावरण न्यायको लागि एउटा महत्त्वपूर्ण कदम’ भनेर स्वागत गरेको छ । किसानले भने आफ्नो बालीनाली जोगाउन अरु कुनै उपायले काम नगरेपछि पेन्गुइन मार्नुको विकल्प नभएको दाबी गरेका छन् ।

म्यागेलानिक पेन्गुइनलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कम चिन्ताको प्रजातिको रूपमा राखेको छ । जसको अर्थ यो सङ्ख्या घट्दै गए पनि यो लोप हुने खतरामा छैन ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search