चितवन ट्राफिकसँग रहेका झण्डै ९ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

चितवन । जिल्ला ट्राफिक कार्यालय चितवनले जाँचका क्रममा लिएको गाडी चालक अनुमति पत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ हजार ९८२ वटा कागजपत्र फिर्ता लैजान कार्यालयले आग्रह गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार २०८० सालदेखि ट्राफिक प्रहरीले ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम’ राख्न शुरु गरेसँगै कागजात सङ्कलन भएको हो ।

विभिन्न मिति र ठाउँमा गरिएको जाँचका क्रममा चौबीसघण्टे पूर्जी प्राप्त गरेका तर तोकिएको समयभित्र जरिवाना दाखिल नगरेका चालक तथा धनीलाई १० दिनभित्र कागजपत्र लिन आग्रह गरिएको छ ।

थापाका अनुसार गाडी चालक अनुमतिपत्र, ब्लु बुक, सडक अनुमतिजस्ता सक्कली कागजात कार्यालयमा छन् । कार्यालयले यो आर्थिक वर्षमा मात्रै यस्ता कागजपत्र दुई हजार २४८ वटा समातेको छ ।

१० दिनभित्र कागज फिर्ता नलगे सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा ५ बमोजिम एक महिनासम्म निलम्बन गरिनेछ ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search