रामेछापमा यस वर्ष २३ करोड रुपैयाँको जुनार बिक्री हुने अनुमान

रामेछाप । गएका वर्षहरूभन्दा यस वर्ष रामेछापमा जुनार उत्पादनमा वृद्धि भएको छ । उत्पादन बढेसँगै जुनार बिक्रीबाट २२ करोड ६८ हजार रुपैयाँ आम्दानी हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले अनुमान गरेको छ ।

यस वर्ष समयसयममा पानी परेको र जुनारका बोटमा समेत किरा नलागेका कारण गएको वर्ष भन्दा यस वर्ष जुनार उत्पादनमा वृद्धि भएको हो । यस वर्ष चार हजार पाँच सय ३६ मेट्रिक टन जुनार उत्पादन हुने अनुमान छ ।

गएको वर्ष चार हजार पाँच सय मेट्रिक टन जुनार उत्पादन भएको थियो । रामेछापमा अहिले पाँच सय ४० हेक्टर जमिनमा जुनार खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका सूचना अधिकारी विनिसा श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष रामेछापमा पाँच सय ४० हेक्टरमध्ये ६० प्रतिशत फल दिन बोट रहेको र किसानले प्रतिकिलो ५० रुपैयाँका दरले बगैँचाबाट नै बिक्री गर्दा पनि २२ करोड ६८ हजार रुपैयाँ बराबरको जुनार बिक्री हुन्छ ।

गएको वर्षको भन्दा जुनार उत्पादनमा धेरै राम्रो भएकाले किसानले यस वर्ष अमिलो जातका जुनारसँगै सुन्तला, कागती र भोगटे उत्पादनमा पनि वृद्धि भएको छ । रामेछापमा अहिले कृषि कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले केही वर्षदेखि किसानलाई अमिलो जातका फलफूल खेतीमा प्रोत्साहित गर्दै आएको छ ।

त्यस्तै निःशुल्क प्राविधिक सहयोग, सिँचाइ, बिरुवा, विषादीमा अनुदान तथा बजार व्यवस्थापनमा ५० देखि ७५ प्रतिशतसम्म सहयोग गर्दै आएको छ । रामेछापको विभिन्न गाउँमा किसानहरूले व्यावसायिक रूपमा जुनार खेती गर्दै आएका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search