काठमाण्डाै । मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गरेपछि हिजो बेलुकादेखि सामाजिक सञ्जालमा त्यसको चर्चा बढेको छ । एकाथरीले अधिक नगद, जग्गा र सुन उनीहरूले कसरी कमाए भनेर प्रश्न गरेका छन् भने अर्काथरीले रित्तै राजनीतिमा आएर कमाउनु भन्दा कमाएर राजनीतिमा आएकाहरूले सुशासन कायम गर्ने दाबी गरेका छन् ।
सार्वजनिक सम्पत्तिमा विशेषगरी प्रधानमन्त्री र मन्त्रीहरूको सुनलाई लिएर धेरै चर्चा भएको छ । धेरैले मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत र त्यो कमाएबापत राज्यलाई कर तिरेको विवरण पनि सार्वजनिक हुनुपर्ने बताएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले त मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरण अपारदर्शी भएको भन्दै काठमाण्डौमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूले मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्तिको वैधानिक स्रोत तत्काल सार्वजनिक गरिनुपर्ने, सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न एक उच्चस्तरीय स्वतन्त्र आयोग गठन गरिनुपर्ने, देशमा बढ्दो भ्रष्टाचार, सुन तस्करी र महँगी नियन्त्रणमा सरकारले ठोस कदम चाल्नुपर्ने माग गरेका छन् ।
यसैबीच परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रीहरूले सार्वजनिक गरेका सम्पत्तिका स्रोतहरू अस्पष्ट नभएको दाबी गर्नुभएको छ । मोरिसस भ्रमणबाट फर्केका मन्त्री खनालले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आम्दानीका स्रोत स्पष्ट रहेको र कसैले छानबिन गर्न चाहन्छ भने स्वभाविक रूपमा गर्न सकिने बताउनुभयो ।











