काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाले सडकमा अलपत्र परेका बेसहारा र सहयोगापेक्षी व्यक्तिहरूको उद्धार तथा व्यवस्थापन कार्यलाई तीव्रता दिएको छ ।कार्यवाहक मेयर सुनिता डङ्गोलको नेतृत्वमा पशुपति क्षेत्रलगायत विभिन्न ठाउँमा पुगेर उद्धार कार्य भइरहेको छ । उद्धार गरिएकाहरूलाई सीधै आश्रममा नपठाई पहिले स्क्रिनिङ सेन्टरमा लगेर वर्गीकरण गर्ने प्रक्रिया अघि बढाएको महानगरले जनाएको छ ।
परिवार भएकाहरूलाई पुनर्मिलन गराइने, शारीरिक रूपमा अशक्तलाई अस्पताल लगिने र मानसिक स्वास्थ्य समस्या भएकाहरूलाई विशेष उपचार केन्द्रमा पठाइने महानगरको योजना छ ।
पशुपति क्षेत्र विकास कोषसँगको समन्वयमा त्यहाँ एउटा डेडिकेटेड स्क्रिनिङ सेन्टर बनाउने सहमति भइसकेको कार्यवाहक मेयर डङ्गोलले जानकारी दिनुभयो ।
यो अभियान पशुपतिमा मात्र सीमित नरही कालीमाटी, स्वयम्भूलगायत काठमाण्डाैका सबै क्षेत्रमा क्रमशः विस्तार गरिने र काठमाण्डाैलाई सहयोगापेक्षी सडक आश्रितमुक्त शहर घोषणा गर्ने लक्ष्य नपुगेसम्म यो कार्य निरन्तर चलिरहने उहाँले बताउनुभयो ।











