काठमाण्डाै । भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै ‘काम गर्न पूर्णरूपमा अनुमति छैन’ भनेर लेख्ने कर्मचारीमाथि कारबाही गर्न अध्यागमन विभागले छानबिन प्रकिया अघि बढाएको छ ।
विभागले आज विज्ञप्ति निकालेर कुनै पनि नागरिकलाई प्रचलित कानूनभन्दा बाहिर गई अतिरिक्त शर्त तोकेर प्रस्थान अनुमति दिने नीति नभएको स्पष्ट पारेको छ । भिजिट भिसामा विदेश जान लागेका एक नेपालीको राहदानीमा अध्यागमनको कर्मचारीले काम गर्न पूर्णरूपमा अनुमति छैन भन्ने लेखिदिएपछि त्यो सामाजिक सञ्जालमा फैलिएको थियो ।
विभागले धेरै नेपालीका लागि विदेश यात्रा रहर मात्र नभई राम्रो अवसरको खोजी र कहिलेकाहीँ बाध्यता पनि हुने यथार्थ रहेको उल्लेख गरेको छ ।
अध्यागमन विभागका निर्देशक एवम् प्रवक्ता टीकाराम ढकालले जारी गर्नुभएको विज्ञप्तिमा विभागले यात्रुहरूको आगमन तथा प्रस्थान प्रक्रियालाई झन्झटरहित बनाउन नीतिगत सहजीकरण र अध्यागमन प्रणालीको आधुनिकीकरणमा पनि काम भइरहेको उल्लेख छ ।











