काठमाण्डाै । औसत मितिभन्दा ६ दिनअघि नै भारतको केरलामा आइपुगेको मनसुनी वायुको गति सुस्त देखिएको छ । शुरूमा गति राम्रो भए पनि केही दिनदेखि पश्चिमी वायुले धकेलेर मनसुनी वायुको गति कमजोर हुँदा अझै दक्षिण भारतसम्म आइपुग्न नसकेको त्रिभुवन विश्वविद्यालयकाे जल तथा मौसम विज्ञानका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार दक्षिणी बङ्गालको खाडीमा मनसुनको गति सुस्त देखिएकाले नेपाल भित्रिने मिति अनिश्चित भएको छ ।
सामान्यतया भारतको केरलामा मे ३० तारिखमा आइपुगेको मनसुन त्यसको १२ दिनपछि नेपालको पूर्वी भेगमा आइपुग्छ । यसपालि केरलामा ६ दिनअघि अर्थात् मे २४ मै मनसुन आइपुगेको हो । केरला आउँदासम्म गति तीव्र रहे पनि पछिल्ला दिनमा सुस्त बनेको हो ।
गएको वर्ष सरदरभन्दा १५ दिनअघि नै मनसुन नेपाल प्रवेश गरेको थियो । नेपालमा अहिले पश्चिमी वायुले वर्षा गराइरहेको छ । यसपालि प्रि–मनसुनमा औसतभन्दा निकै धेरै पानी परेको छ ।
जल तथा मौसमम विज्ञान विभागका अनुसार नेपालमा फागुन १७ गतेदेखि जेठ १७ गतेको अवधिमा २२६ मिलिमिटर वर्षा हुन्छ । तर यसपालि २८६ मिलिमिटर वर्षा भइसकेको छ । यो औसतभन्दा १२५ प्रतिशतले धेरै हो ।
प्रि–मनसुनमा धेरै वर्षा भए पनि यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षा र गर्मी बढी हुने अनुमान छ ।











