काठमाण्डाै । फिफा विश्वकप फुटबलकाे क्वाटरफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्डबीचकाे खेलका क्रममा अर्जेन्टिनी कप्तान लिओनल मेसी र पोर्चुगिज रेफ्री जोआओ पेड्रो पिन्हेरोबीच मैदानमै तनावपूर्ण संवाद भएको छ ।
खेलको पहिलो हाफमा फ्री–किकको तयारीका बेला रेफ्रीले मेसीलाई पछि हट्न निर्देशन दिँदा प्रयोग गरेको लवज र इशारा उनलाई चित्त बुझेन । मेसीले तत्कालै जवाफ फर्काउँदै सम्मानजनक व्यवहारको माग गरे ।
फ्री–किकपछि पनि दुवैबीच संक्षिप्त संवाद जारी रह्यो जुन टेलिभिजन क्यामेराले कैद गर्याे । यद्यपि मेसीले संयम कायम राखी हात पछाडि बाँधेरै आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए र यस घटनामा कुनै कार्ड देखाइएन ।
उदीयमान रेफ्रीका रूपमा चिनिने ३८ वर्षीय पिन्हेरोले च्याम्पियन्स लिगलगायतका ठूला प्रतियोगिता खेलाएको अनुभवका आधारमा विश्वकप सञ्चालन टोलीमा ठाउँ पाएका हुन् ।
याे खेलमा अर्जेन्टिना ३–१ ले विजयी भएकाे थियाे । अब अर्जेन्टिनाले फाइनलमा पुग्न असार ३१ गते बुधवार राति पाैने १ बजे इङ्ग्ल्यान्डसँग खेल्नेछ ।











