काठमाण्डौ । आज काठमाण्डौ उपत्यकासहित २३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले २३ जिल्ला र ती जिल्ला आसपासका खोला तथा नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
काठमाण्डौ, भक्तपुर, ललितपुर र काभ्रेमा बाढीको उच्च जोखिम तथा पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट र आसपासका जिल्ला भई वहने स–साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ ।
आज र भोलि देशका केही ठाउँमा आरीघोप्टे र मुसलधारे वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकीका एक/दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका छन् ।











