काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सरकार मात्र नभई राजनीतिक संस्कार परिवर्तनको अभियानमा रहेको बताउनुभएको छ ।
चितवनको भरतपुरमा आजदेखि शुरू भएकाे पार्टीकाे पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत राजनीतिक तथा आर्थिक प्रोत्साहन संरचना भएको बताउनुभयो । उहाँले विगतमा राजनीतिक दलहरूले अवसरभन्दा पहुँचवालालाई प्राथमिकता दिने संस्कार विकास गरेको आरोप लगाउनुभयो ।
उपसभापति वाग्लेले राज्य संयन्त्र सिर्जनात्मक र प्रतिस्पर्धामूलक बन्न नसकेको भन्दै अवसर विस्तार गर्नेभन्दा पहुँचको संरक्षण गर्ने प्रवृत्तिले देशको विकासमा अवरोध सिर्जना गरेको उल्लेख गर्नुभयाे । याे अवराेध हटाउने अभियानमा रास्वपा रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नेपालको समस्या स्रोतको अभाव मात्र होइन । नेपालको समस्या सम्भावनाको अभाव पनि होइन । हाम्रो समस्या गलत प्रोत्साहन संरचना हो । राजनीतिमा इमानदार मानिस प्रवेश गर्न कठिन तर पहुँचवालालाई सफल हुन सजिलो हुने प्रणाली बन्यो । हाम्रो राजनीतिक उद्देश्य केवल सरकार फेर्ने अभियान मात्र होइन । यो राजनीतिक संस्कार परिवर्तनको अभियान हो ।’
वागेलेले विवेक, विधि र नियममा आधारित शासन प्रणाली निर्माण, भागबन्डाको अन्त्य तथा मेरिटोक्रेसीको स्थापना र नागरिक केन्द्रित लोकतन्त्रको विकासमा पार्टी प्रतिबद्ध रहेको बताउनुभयाे ।











