काठमाण्डाै । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले थिति बसाउन चालिएका कुनै पनि कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिन सरकार र रास्वपालाई आग्रह गर्नुभएको छ ।
चितवनमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेता पुनले भ्रष्टाचारकाे अन्त्य र सुशासनको विषयमा सधैँ साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विगतमा आफूहरूले पनि सुशासनको एजेन्डालाई गतिलोसँग अघि बढाएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सुशासनको एजेन्डामा हामीबीच समानता छ । सुशासनको एजेन्डामा नेकपा र रास्वपाको जतिको निकट सहकार्य सायद अरूको बीचमा भएको छैन । कठिन परिस्थितिमा पनि हामीले लोकतान्त्रिक मूल्य र न्यायको पक्षमा सँगै उभिने प्रयास गरेका थियौँ । थिति बसाउन चालिएको कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस् भन्ने कुरामा तपाईको पर्याप्त ध्यान पुग्नेछ भन्ने हाम्रो विश्वास रहेको छ ।’
नेता पुनले सुशासन, पारदर्शिता र थिति बसाउने अभियानमा रास्वपालाई पूर्ण समर्थन गर्ने उल्लेख गर्नुभयाे ।











