काठमाण्डाै । फिफा विश्वकप फुटबल २०२६ का विजेताहरूले ऐतिहासिक रूपमा पहिलो पटक च्याम्पियनशिप रिङ (औँठी) प्राप्त गर्ने भएका छन् । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाका अनुसार विश्वकपका विजेताहरूले ट्रफी र स्वर्ण पदकका साथै च्याम्पियनशिप रिङ पनि प्राप्त गर्ने भएका हुन् ।
अमेरिकाको न्यूयोर्क–न्यू जर्सी रङ्गशालामा पर्सि आइतवार राति पौने १ हुने विश्वकपको फाइनलमा उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ । सेमिफाइनलमा स्पेनले फ्रान्सलाई र अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई हराउँदै उपाधि नजिकै पुगेका हुन् ।
फिफाले सन् २०२६ को प्रतियोगिताको सम्झनामा २ हजार २६ थान च्याम्पियनशिप रिङ तयार पारेको छ । विजेता टोलीका सदस्यहरूलाई ३० वटा औँठी प्रदान गरिनेछ भने बाँकी १ हजार ९९६ वटा आधिकारिक रूपमा इजाजतप्राप्त स्मृति–सामग्रीका रूपमा विश्वभर उपलब्ध गराइनेछ ।
हरेक औँठीको एकतर्फ फिफा विश्वकपको ट्रफी रहनेछ भने अर्कोतर्फ प्रतियोगिताको विजेताको पहिचान झल्किने गरी विशेष रूपमा तयार पारिनेछ । फिफाको पुरस्कार वितरण समारोहमा ‘च्याम्पियनशिप रिङ’ को शुरुआतले उत्तर अमेरिकी विशेषता थपेको छ; यसले अमेरिकी व्यावसायिक खेलकुदमा विजेत टोलीहरूले ट्रफीका साथै विशेष स्मृति–औँठी प्राप्त गर्ने लामो समयदेखिको परम्परालाई प्रतिविम्बित गर्दछ ।











