पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै

काठमाण्डाै । इजरायलमा सुसारेका रूपमा काम गर्न आठ सय ३६ जना इजरायल जाने भएका छन् । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबास र वैदेशिक रोजगार विभागका प्रतिनिधिले हिजो पहिलो खेपमा इजरायल जाने कामदार श्रव्यदृश्यका माध्यमबाट चिट्ठा प्रणालीमार्फत छनोट गरेको हो ।

इजरायली दूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार चिट्ठा प्रक्रियामा एक हजार १ सय १५ जना सहभागी भएकामा ७ सय ८४ पुरुष र ३ सय ३१ महिला चयन भएका छन् ।त्यस अवसरमा राजदूत एरीबासले इजरायलको सेवाशुश्रूषा क्षेत्रमा निकट भविष्यमा थप दुई हजार १ सय भन्दा बढी रोजगारीका अवसर खुल्ने जानकारी दिनुभयो । उहाँले ‘घरमा आधारित स्याहार सेवा’ तथा ‘कृषि श्रमिक’सम्बन्धी द्विपक्षीय सहमति कार्यान्वयनको चरणमा पुगेको बताउनुभयो ।

द्विपक्षीय श्रम सम्झौताअन्तर्गत इजरायल जाने नेपाली कामदारले इजरायली कानुनबमोजिम स्थानीय कामदारसरह न्यूनतम पारिश्रमिक तथा सेवासुविधा प्राप्त गर्नेछन् ।

इजरायल र नेपालबीचको श्रम सहकार्यलाई थप सुदृढ बनाउने दिशामा यो छनोट प्रक्रिया अर्को महत्वपूर्ण उपलब्धि भएको जनाउँदै दुवै देशले भर्ती प्रक्रियामा पारदर्शिता, निष्पक्षता र समान अवसरप्रतिको प्रतिबद्धता जनाएका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search