प्रविधिको सहारामा अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल विस्तार : राष्ट्रसङ्घ

दक्षिणपूर्वी एसियामा सक्रिय आपराधिक समूहले आधुनिक प्रविधि र सङ्गठित सञ्जालको प्रयोग गर्दै एसियाबाहिर अवैध गतिविधि विस्तार गरिरहेको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय (युएनओडीसी) को प्रतिवेदनअनुसार, अनलाइन ठगीबाट मात्र सन् २०२५मा विश्वभर झण्डै ८८ अर्ब ३० करोडदेखि एक खर्ब १४ अर्ब १० करोड अमेरिकी डलरसम्मको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

प्रतिवेदनले दक्षिणपूर्वी एसियामा केन्द्रित अन्तर्राष्ट्रिय अपराध सञ्जाल लागुऔषध, मानव बेचबिखन तथा वन्यजन्तु तस्करीजस्ता गतिविधिमा संलग्न रहेको र यस्ता समूहले विश्वव्यापी सञ्जाल विस्तार गरिरहेको उल्लेख गरेको छ । अपराधीले कृत्रिम बुद्धिमत्ता (एआइ), क्रिप्टोकरेन्सी, इन्क्रिप्टेड सञ्चार प्रणाली तथा अन्य डिजिटल उपकरणको प्रयोग गरी ठगी, रकम शुद्धीकरण र पीडितको पहिचान लुकाउने गरिरहेको प्रतिवेदनमा जनाइएको छ ।

प्रतिवेदनले एआइ र अनलाइन प्लेटफर्मको दुरुपयोगका कारण बालबालिकामाथिको जोखिम बढेको औँल्याएको छ । दक्षिणपूर्वी एसियामा रहेका सयौँ ठगी केन्द्र मानव बेचबिखन, यौन शोषण तथा बाल यौन दुर्व्यवहार सामग्री उत्पादन र बिक्रीका लागि प्रयोग भइरहेको उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार आपराधिक समूहले जेनेरेटिभ एआइ, डीपफेक प्रविधि प्रयोग गरी यौन शोषण तथा अन्य अपराधलाई थप जटिल बनाइरहेका छन् ।

प्रतिवेदनले सङ्गठित अपराध नियन्त्रणका लागि देशहरुबीच सूचना आदानप्रदान, वित्तीय निगरानी, डिजिटल प्लेटफर्ममाथि नियन्त्रण र सीमापार सहकार्य आवश्यक रहेको सुझाव दिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search