फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कानून पारित

फ्रान्सको संसद्ले सन् २०२७ को जनवरीदेखि १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानून पारित गरेको छ । योसँगै फ्रान्स बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्नबाट रोक्ने पहिलो युरोपेली देश बनेको छ ।

यो कानूनअनुसार फ्रान्समा सामाजिक सञ्जाल प्रयोग गर्न सबैले आफ्नो उमेर प्रमाणित गर्नुपर्ने बीबीसीले जनाएको छ । बालबालिकाको मानसिक स्वास्थ्यसम्बन्धी चिन्ताका कारण बेलायत र युरोपेली सङ्घले पनि यस्तै किसिमका नियमहरू तयार पारिरहेको बेला फ्रान्सले कानून पारित गरेको हो ।

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले यस कदमको स्वागत गर्नुभएको छ । उहाँले आफ्नो कार्यकालको एक दशक पूरा भएको अवसरमा यो कदम अघि बढाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

यद्दपि केहीले यस कानूनको व्यावहारिकतामाथि प्रश्न उठाएका छन् । तर सरकारले उमेर जाँचको व्यवस्था लागू गर्न प्रयोग गरिने अनलाइन उपकरणहरू प्रभावकारी र सुरक्षित रहेको कुरामा जोड दिएको छ ।

बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने अस्ट्रेलियापछि फ्रान्स दोस्रो देश हो । अस्ट्रेलियाले गएको डिसेम्बरमा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो ।

बालबालिकामा पर्ने हानिकारक असरहरूबारे बढ्दो चेतावनीका बीच धेरैजसो देशहरूले सामाजिक सञ्जालको पहुँच सीमित गर्न कदम चालिरहेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search