काठमाण्डाै । मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रियसभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन् ।
कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक पदमबहादुर परियार, नेकपाकी प्रमुख सचेतक मदनकुमारी शाह, एमाले सांसद सोमनाथ पोर्तेल र जसपाकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ ।
सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक परियारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले सरकारको पूर्वतयारीप्रति आशङ्का व्यक्त गर्नुभयो । नागरिकको जीउधनको सुरक्षासँन्ग जोडिएको विषयमा सरकारलाई अझ बढी संवेदनशील र जिम्मेवार बनाउन ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको उहाँको भनाइ छ ।
त्यस्तै नेकपा प्रमुख सचेतक शाहले जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढे पनि सरकारको कार्ययोजना कार्यान्वयन नभएको आरोप लगाउनुभयो । विपक्षी दलहरूले विपद् आइसकेपछि मात्र राहत र उद्धारमा लाग्ने परिपाटी अन्त्य गरी पूर्वसूचना, उद्धार सामग्री र पालिकासँगको समन्वय चुस्त बनाउन सरकारसँग माग गरेका छन् ।











