अमेरिका र साउदी अरबबीच ऐतिहासिक आणविक सम्झौता

अमेरिका र साउदी अरबबीच शान्तिपूर्ण उद्देश्यका लागि परमाणु ऊर्जामा सहकार्य गर्ने ऐतिहासिक आणविक सम्झौता भएको छ । अमेरिकी ऊर्जा विभागका अनुसार यो शान्तिपूर्ण आणविक सहकार्य सम्झौताले अमेरिकी कम्पनीहरूलाई साउदी अरबको परमाणु ऊर्जा कार्यक्रमसँग आबद्ध हुने महत्वपूर्ण अवसर प्रदान गर्ने उदेश्य राखेको बीबीसीले जनाएको छ ।यो सम्झौतालाई साउदी अरबका लागि ठूलो कूटनीतिक उपलब्धिका रूपमा हेरिएको छ ।

साउदीले लामो समयदेखि अमेरिकाको उन्नत परमाणु प्रविधि प्राप्त गर्न चाहँदै आएको थियो भने वर्षौंदेखि चलिरहेको वार्ता विभिन्न कारणले अघि बढ्न सकेको थिएन । सम्झौताको विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन । तर सम्झौता घोषणा हुनुअघि अमेरिकी सञ्चारमाध्यमहरूले यसले साउदी अरबलाई भविष्यमा युरेनियम संवद्र्धन गर्ने सम्भावना खुला गर्न सक्ने उल्लेख गरेका छन् । यही विषयलाई लिएर सुरक्षा विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन् ।

उनीहरूका अनुसार यदि साउदी अरबले आफ्नै देशमा युरेनियम संवद्र्धन गर्न थालेमा इरानका कट्टरपन्थी समूहहरूलाई पनि गोप्य रूपमा आणविक हतियार निर्माणको दौड तीव्र बनाउन प्रेरणा मिल्न सक्ने जोखिम रहन्छ । यद्यपि अमेरिकी ऊर्जा सचिवले सम्झौताले परमाणु सुरक्षा र अन्तर्राष्ट्रिय मापदण्डका उच्चतम सुरक्षा मानक पालना गर्ने स्पष्ट पार्नुभएको छ ।

उहाँका अनुसार यो सहकार्य पूर्ण रूपमा शान्तिपूर्ण परमाणु ऊर्जा विकासमा केन्द्रित रहनेछ । अमेरिका र साउदी अरबबीचको यो सम्झौतालाई मध्यपूर्वको ऊर्जा तथा सुरक्षा सन्तुलनमा दीर्घकालीन प्रभाव पार्न सक्ने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।

सम्झौताको पूर्ण विवरण सार्वजनिक भएपछि यसका रणनीतिक र क्षेत्रीय प्रभावबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search