काठमाडौं । झापाको अर्जुनधारामा गाउँपालिकामा अव्यवस्थित बसोबास गरेका १८ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस्या समाधान समिति झापाले बिहीबार १८ परिवारलाई लालपुर्जा वितरण गरेको हो । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको भूमि मन्त्रालयले जनाएको छ । यसअघि सरकारले बर्दियाको बढैयातालका र झापाको बुद्दशान्तीका भूमिहिनलाई लालपुर्जा वितरण गरेको थियो ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको मन्त्रालयको दाबी छ ।











