काठमाण्डौ । बाढी पूर्वानुमान महाशाखाले आज देशका २८ जिल्लाका खोला तथा नदीहरुमा बाढीको जोखिम रहेको जनाएको छ । महाशाखाका अनुसार खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखामा बाढीको जोखिम छ ।
यस्तै लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रुकुम पूर्व, रुकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र डोटी जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ । महाशाखाले ती जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
विशेषगरी वर्षाका कारण खोल्सा तथा साना नदीमा अचानक पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षित ठाउँमा रहन भनेको छ । महाशाखाले मौसम र नदीको अवस्थाअनुसार जोखिमको स्तर परिवर्तन हुन सक्ने भएकाले नियमित रूपमा बाढीसम्बन्धी अद्यावधिक सूचना हेर्न पनि अनुरोध गरेको छ ।
महाशाखाले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई पनि सम्भावित आकस्मिक बाढीको जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।
आज लुम्बिनी, बागमती, गण्डकी र कर्णालीका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । लुम्बिनीका पहाडी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भेगका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।











