११ वर्षपछि औषधिको मूल्य समायोजन गर्दै सरकार

काठमाण्डौ । क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव हटाउन सरकारले औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाएको छ । कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र ११ वर्षदेखि औषधिको मूल्य पुनरावलोकन नभएका कारण बजारमा देखिएको अभाव समाधान गर्न सरकारले आवश्यक नीतिगत सुधारको तयारी गरेको हो ।

गएको हप्ता औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले अत्यावश्यक औषधिको आपूर्ति सहज बनाउन मूल्य समायोजनसहित आवश्यक नीतिगत सुधार अघि बढाउने निर्णय गरेको छ ।

विभागका अनुसार लामो समयदेखि औषधिको मूल्य समायोजन नहुँदा केही औषधिको बजार मूल्य सरकारले तोकेको मूल्यभन्दा धेरै बढिसकेको छ । यस्तै, केही औषधिको बजार मूल्य घटिसकेको अवस्थामा सरकारले निर्धारण गरेको मूल्य भने अझै उच्च रहेकाले त्यस्ता औषधिको मूल्य घटाउने तयारी पनि गरिएको छ ।

झण्डै दुई हप्ताअघि क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका कार्बोप्लाटिन, सिस्प्लाटिन तथा सलाइनमार्फत दिइने केही इन्जेक्सन औषधिको अभाव भएपछि उपचाररत बिरामीले समस्या भोग्नुपरेको थियो ।

नेपालमा औषधिको मूल्य निर्धारण तथा समायोजन गर्दा भारतको नेशनल फार्मास्युटिकल प्राइसिङ अथोरिटी (एनपीपीए)ले निर्धारण गरेको सिलिङ मूल्यलाई आधार मान्ने अभ्यास रहेको छ । निमित्त महानिर्देशक खड्गीले मूल्य समायोजनको कानुनी प्रक्रिया अघि बढिरहेको भए पनि तत्कालका लागि औषधिको अभाव हुन नदिन सरकार उत्पादक, आयातकर्ता र व्यवसायीसँग निरन्तर संवाद तथा आवश्यक सहजीकरणमा जुटिरहेको बताउनुभएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search