काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जनाएको छ ।
सरकारले गएको चैत १३ गते शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अनलाइन सट्टेबाजीसम्बन्धी वेबसाइट तथा एप २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिइएको थियो । त्यही अनुसार अभियानलाई विश्वकप अवधिमा अझ प्रभावकारी बनाएको प्राधिकरणले जनाएको छ ।
यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष चासोपछि प्राधिकरणले छुट्टै कार्यदल गठन गरेको छ । कार्यदलका सदस्य प्राधिकरणका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप सुरु भएपछि इन्टरनेट सेवा प्रदायक (आइएसपी)का प्रतिनिधिहरुलाई प्राधिकरणमै राखेर त्यस्ता वेबसाइट बन्द गरिएको थियो ।
आइएसपीसँगको सहकार्यमा त्यस्ता वेबसाइट चल्ने युआरएललाई ‘ब्लक’ गरिने सहायक निर्देशक महतोले बताउनुभयो । उहाँका अनुसार यति धेरै वेबसाइट एकएक गरेर खोज्न कठिन हुने भएको अधिकार प्रदत्त विभिन्न संस्था तथा निकायले पहिचान गरेर राखेका त्यस्ता बेटिङ ‘साइट’ तथा अवैधानिक वित्तीय कारोबार हुने वेबसाइटहरुलाई आइएसपीसँगको सहकार्यमा बन्द गरिन्छ ।
उहाँका अनुसार एउटा बन्द गर्दा अर्को नयाँ वेबसाइट खुलिरहने चुनौती हुन्छ । यस्तो अवस्थामा जति नयाँ खुल्दै जान्छन् त्यतिलाई बन्द गर्दै जानुपर्छ । यसका लागि ‘थ्रेड इन्टिेलिजेन्स टुल’ प्रयोग गरेर ‘हन्टिङ’ गर्ने गरिन्छ । यसका लागि पनि छुट्टै जनशक्तिको व्यवस्था गरिएको छ ।
विभिन्न अधिकारप्राप्त निकायबाट पहिचान गरिएका बेटिङ तथा अवैधानिक वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइटहरूको सूचीका आधारमा आईएसपीसँग समन्वय गरेर ती साइटहरू बन्द गरिन्छ ।
महतोले एउटा वेबसाइट बन्द गरेपछि अर्को नयाँ वेबसाइट सञ्चालनमा आउने चुनौती रहेको उल्लेख गर्दै त्यस्ता नयाँ साइटहरूको पहिचान गर्न ‘थ्रेट इन्टेलिजेन्स टुल’ प्रयोग गरी निरन्तर निगरानी र ‘हन्टिङ’ गरिने जानकारी दिनुभयो । यसका लागि छुट्टै जनशक्तिसमेत परिचालन गरिएको छ ।
प्राधिकरणले अनलाइन बेटिङ वा अवैधानिक वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइट वा एपबारे जानकारी भए नागरिकलाई पनि सूचना उपलब्ध गराउन आग्रह गरेको छ । प्राप्त सूचनाका आधारमा आवश्यक अनुसन्धान गरी त्यस्ता प्लेटफर्ममाथि थप कारबाही अघि बढाइने प्राधिकरणले जनाएको छ ।











