सुनसरीको जनजीवन सामान्य बन्दै, सप्तरीमा पनि कर्फ्यु हट्यो

काठमाण्डाै । देवानगञ्ज घटनापछि प्रभावित बनेको सुनसरीको जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ । गएको आइतवार राति दुई समुदायका बीचमा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्जका ओमप्रकाश मेहताकाे ज्यान गएपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा प्रदर्शन भएको थियो ।

प्रदर्शनका क्रममा आगजनी र तोडफोड र हिंसा भड्किएपछि सुनसरीका अरू पालिकाहरूमा पनि हिंसा बढेको थियो । सुनसरीको इनरुवा, भोक्राह नरसिंह, कोशी गाउँपालिकामा हिंसा भड्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले ९ वटा पालिकामा कर्फ्यु जारी गरेको थियो ।

सुनसरीमा प्रदर्शन बढ्दै गर्दा मधेश प्रदेशमा पनि हिंसा भड्किएको थियो । प्रदर्शनका क्रममा सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर गणेश यादवको ज्यान गएपछि थप हिंसा भड्किएको थियो ।

गृहमन्त्री सुधन गुरुङसँग भएको सम्झौतापछि हिंसा रोकिएको छ । कर्फ्यु हटेसँगै सुनसरीको सीमा क्षेत्रमा सामान्य जनजीवन शुरू भएको छ । दैनिक जनजीवन सामान्य भए पनि डर भने कायमै रहेको स्थानीय बासिन्दा बताउँछन् । आजदेखि लामो दूरीका गाडी पनि चलेका छन् ।

यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले निकाल्नुभएको सूचनाअनुसार जिल्ला सुरक्षा समितिको आजको बैठकबाट कर्फ्यु हटाएर निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search