काठमाण्डाै । काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा शृङ्खलाबद्ध लुटपाट गर्ने ‘कर्मा समूह’ का ५ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेका अनुसार पक्राउ पर्नेहरूमा समूहका मुख्य नायिके सिन्धुपाल्चोकका ३४ वर्षीय कर्मा तामाङसहित काभ्रेका प्रतिमान गोले, पासाङ घिसिङ, मनोज तामाङ र कास्कीका आले गुरुङ छन् ।
कर्मालाई पक्राउ गर्न प्रहरीले गोली चलाउनुपरेको थियो । बूढानीलकण्ठको भैरव रोड क्षेत्रमा पुगेको प्रहरी टोलीमाथि कर्माले खुकुरी प्रहार गर्ने प्रयास गरेपछि २ राउन्ड हवाई फायर र १ राउन्ड गोली चलाएर पक्राउ गरेको एसएसपी घिमिरेले बताउनुभयो । प्रहरीको गोली लागेर घाइते भएका कर्माको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
‘कर्मा’ समूहले विशेषगरी बिहान र बेलुकाको समयमा एक्लै हिँडिरहेका महिला तथा वृद्धवृद्धालाई लक्षित गरेर सुनको सिक्री लुट्ने गरेका थिए ।
उनीहरूले शुरूमा बाटो सोध्ने बहानामा कुराकानी गर्ने र लगत्तै मोटरसाइकलबाट आएर लछारपछार गर्दै घाँटीमा लगाएका सुनका सिक्री तथा पैसा लुट्ने शैली अपनाएका अनुसन्धानबाट खुलेको छ ।











