काठमाण्डाै । पाकिस्तानको ब्राेड पिकमा हिमपहिरोमा परेर ज्यान गुमाएका विश्व प्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा उर्फ ‘निम्स दाइ’ को शव निकालिएको छ । गएकाे बिहीवार आरोहणका क्रममा हिमपहिरोमा परेर बेपत्ता भएका पुर्जाको शव हिजो भेटिएको थियो । तर प्रतिकूल मौसमका कारण आज मात्रै उहाँको शव निकालेको पाकिस्तानी निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
पाकिस्तानको आरोहणसम्बन्धी अग्रणी संस्था अल्पाइन क्लब अफ पाकिस्तान (एपीसी) का अनुसार निम्सको शव ५ हजार ७०० मिटर उचाइमा फेला परेको थियो । पुर्जासहित हिमपहिरोमा बेपत्ता भएका १० मध्ये ८ जनाको शव उद्धारकर्ताहरूले फेला पारेका छन् ।
नेपाली आरोहीहरू पुरबहादुर गुरुङ ‘युक्ता’ र ग्यालु शेर्पाको शव घटनास्थलबाट सुरक्षित ठाउँमा झारिसकिएको पराराष्ट्र मन्त्रालयले जनाएको छ । बीबीसीका अनुसार नेपाली आरोहीहरू निर्मल पुर्जा, किली पेम्बा शेर्पा ’किलु’ र निमा शेर्पाको शव उद्धारकर्ताले आज फेला पारेर अहिले क्याम्प १ तर्फ ल्याइरहेका छन् । थप एउटा शव भएको ठाउँ स्थलगत उद्धारकर्ताहरूले फेला पारे पनि सनाखत भने हुन सकेको छैन ।
हराइरहेका नेपाली आरोहीमध्ये नवाङ थिन्डु शेर्पा र पाकिस्तानका सोहेल साखीको अवस्था थाहा हुन सकेकाे छैन । हराइरहेका आरोही ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र चीनका ह्याङ झोङको शव भने भेटिएको छ ।
नेपाली आरोहीहरूका शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादमा रहेको नेपाली राजदूतावासले आवश्यक सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा बिहीवार ६ हजार ६०० मिटरको उचाइमा गएको विनाशकारी हिमपहिरोमा परेर आरोहीहरूको निधन भएको हो ।
यसैबीच कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक बिदा दिएको छ ।











