काठमाण्डौ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको नारायणी नदीपारिको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सुस्तावासीबीच विवाद भएको छ ।नारायणी नदी नियन्त्रणका लागि सुस्तावासीले बनाएको अस्थायी बाँध भारतीय सुरक्षाकर्मीले हिजो भत्काउन थालेपछि विवाद भएको हो । माटो भरेर बनाइएको अस्थायी बाँध भारतीय पक्षले भत्काउन थालेपछि स्थानीयले प्रतिकार गरेको सुस्ता बचाऊ अभियानले जनाएको छ ।
नारायणी नदीमा सङ्घीय सरकारले दुई खण्डमा विभाजन गरेर तटबन्ध निर्माणको प्रयास गरेको भए पनि नदी किनारको पूर्वी खण्डमा भारतले तटबन्ध बनाउन रोक लगाएको थियो । यसअघि जेठ २९ गते भारतीय सुरक्षा निकायले अवरोध गरेपछि तनाव भएको थियो ।
भारतले तटबन्ध बनाउन रोकेको ठाउँमा बाढी पस्न थालेपछि स्थानीयबासिन्दाले अस्थायी बाँध बनाएका थिए । सादा पोसाकमा आएका भारतीय सुरक्षाकर्मीले अस्थायी बाँध भत्काउन थालेपछि स्थानीयहरूले प्रतिकार गर्दा केहीबेर तनाव भए पनि अहिले स्थिति सामान्य रहेको स्थानीय प्रशासनले जनाएको छ ।
समस्या समाधानको लागि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आज स्थानीयबासिन्दा र सुरक्षाकर्मीबीच छलफल गर्दैछ । नारायणी नदीपारिको ऐतिहासिक भूमि सुस्तामा स्थानीयबासिन्दा र भारतीय सुरक्षा निकायबीच बेलाबेलामा विवाद हुँदै आएको छ ।
सुस्तामा कुनै सीमा स्तम्भ नभएका कारण सीमाको विषयमा विवाद हुँदै आएको छ ।











