काठमाण्डौ । ‘निम्स दाइ’ को नामले परिचित विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उहाँको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आज शोक बिदा दिएको छ । अन्नपूर्ण–३ दानामा जन्मिएका पुर्जाको पाकिस्तानको ‘ब्रोड पिक’आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको थियो ।
पुर्जाको निधनले गाउँपालिकासहित म्याग्दीवासीलाई स्तब्ध बनाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताउनुभएको छ । गाउँपालिकाले आज अत्यावश्यकबाहेक सबै कार्यालय, वडा, स्वास्थ्य संस्था र विद्यालयमा शोक बिदा दिने निर्णय गरेको हो ।
यस्तै निर्मल पुर्जाको चितवनको भरतपुर महानगरपालिका–१ रामनगरको घरमा रहेका परिवार, आफन्त, छिमेकी र उहाँले अध्ययन गर्नुभएको विद्यालयका शिक्षक शोकमा छन् । पुर्जाले कल्याणपुरमा रहेको स्मल हेभनमा कक्षा १० सम्म अध्ययन गर्नुभएको थियो ।
त्यसपछि उहाँ ब्रिटिस आर्मीका लागि जानुभएको थियो । स्कुलका प्राचार्य रामचन्द्र न्यौपाने आफ्नो विद्यार्थीले विश्व कीर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाउँदा निकै खुशी भएको स्मरण गर्दै निधनबाट विद्यालय परिवार मर्माहत र स्तब्ध भएको बताउनुभयो ।
पर्वतारोही पुर्जाको शव पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा हिजो फेला परेको उद्धारकर्ताले बताएका छन् । उहाँको शव समुद्री सतहबाट झण्डै ५ हजार ७०० मिटर उचाइमा फेला परेको हो । साउन १४ गतेको हिमपहिरोमा परी उहाँसहित ६ जना नेपाली र अरु ४ गरी १० जनाले ज्यान गुमाएका छन् ।











