काठमाण्डाै । खाना पकाउने एलपी ग्यासको अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न उपभोक्ता अधिकारकर्मी र अरू सरोकारवाला निकायले नेपाल आयल निगमलाई सुझाव दिएका छन् । अहिले बजारमा खाना पकाउने ग्यासको अभाव छ । आज बसेको संसद्को उद्योग, वाणिज्य तथा श्रम एवम् उपभोक्ता हित समितिको बैठकमा उपभोक्ता अधिकारकर्मीले निगमले उचित व्यवस्थापन गर्न नसकेको बताएका छन् ।
बैठकमा उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले ‘घरमा ग्यास स्टक भए घामपानी नभनी कोही पनि रित्तो सिलिन्डर बोकेर लाइन लाग्ने थिएनन्’ भन्नुभएको छ । निगमले ग्यास वितरणलाई पारदर्शी बनाउँदै दीर्घकालीन समाधान खोज्नुपर्नेमा उहाँको जोड छ ।
यस्तै नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले सरकारको नीतिका कारण बजारमा ग्यासको हाहाकार भएको दाबी गर्नुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले ग्यास अभाव नभए पनि वितरण प्रणालीमा देखिएको समस्याका कारण अभाव देखिएको बताउनुभएको छ । आधा सिलिन्डर ग्यास वितरणका क्रममा धेरैजसाे उपभोक्ताले ग्यास नभरेको उहाँले बताउनुभयो । भरी ग्यास वितरण गर्न थालेपछि बजारमा एक्कासी सिलिन्डर आउँदा वितरणमा चाप बढेको उहाँको तर्क छ ।
सचिव दुवाडीका अनुसार यसअघि मासिक ४६–४७ हजार मेट्रिक टनको हाराहारीमा रहेको ग्यासको माग अहिले बढेर झन्डै ६० हजार मेट्रिक टन पुगेको छ । उहाँले इन्डियन आयल कर्पोरेशनसँग कम्तीमा १ देखि डेढ महिनासम्मका लागि अतिरिक्त आपूर्ति उपलब्ध गराउन आग्रह गरेको पनि जानकारी दिनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार २८ जिल्लामा ग्यास वितरण प्रणालीमा समस्या देखिएको छ ।











